जहाज चार्टर्ड गरी बंगलादेशबाट नेपाल आए सात सय पर्यटक

न्युजलय ३३ साउन २०८०, शुक्रबार ०२:३३ मा प्रकाशित

काठमाडौं । नेपालमा घुम्नका लागि बंगलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् ।  

उनीहरू जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन बिमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो । 

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ । बंगलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत् नेपाल आएका बंगलादेशी पर्यटकहरूले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ । 

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बंगलादेशबाट करिब १३ हजार छ सय पर्यटक नेपाल आएका छन् ।