देशभर आज थप १३६ जनामा कोरोना पुष्टि

न्युजलय ३१ चैत २०७९, शुक्रबार ०७:१६ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनाको आरटीपीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १३६ जनाका संक्रमण देखिएको हो।

बिहीबार १ हजार ४८८ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको थियो। तर बिहीबारको तुलनामा शुक्रबार परीक्षण कम हुँदा पनि संक्रमित धेरै देखिएका छन्।

मन्त्रालयले शुक्रबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको कोरोना भाइरस संक्रमणको अवस्थाको विवरणअनुसार अहिले देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौँ उपत्यकामा ३२ जना संस्थागत आइसोलेसनमा छन् भने ११ जना आईसीयूमा छन्। त्यस्तै, तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यो अवधिमा ६८ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक रहेको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सुरक्षा सतर्कता अपनाउन मन्त्रालयले‍ आग्रह गरेको छ।