धनुषामा दुई छोराको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या

न्युजलय २३ असोज २०७८, शनिवार ११:३० मा प्रकाशित

काठमाण्डौ । धनुषामा दुई जना छोराको हत्या गरेर एक महिलाले आत्महत्या गरेकी छन्।

नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

दुबै छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार घटनाका बेला गुडियाका श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर आएका थिए।

घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ।

घटनाको कारण खुलिनसकेको डिएसपी बस्नेतको भनाइ छ। तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।