स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको धरान एक्स्पो सुरु

न्युजलय ११ फाल्गुण २०८०, शुक्रबार ०८:३८ मा प्रकाशित

धरान । स्थानीय उत्पादन तथा कृषि उपजलाई प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा शुक्रबारदेखि सुरु भएको १३ दिने धरान एक्स्पोको उद्घाटन गरिएको छ । 


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक्स्पोको उद्घाटन गरेका हुन् ।


कोशी प्रदेश भरिका उद्योगी व्यवसायीलाई आमन्त्रण गरी सुरु गरिएको प्रदेशस्तरीय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री किरातीले अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको दावी गरे । उनले देशको आर्थिक सृदृढिकरणमा नीजि क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए ।


धरान १६ स्थित रंगशालामा सुरु भएको एक्स्पोमा १५० वटा स्टल रहने छन् । करिब ५ लाख आगन्तुकले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । उनका अनुसार एक्सपोमा बेसार, कालो बङ्गुर, तीनपाने, अदुवा, अम्लिसोलगायत स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिएको छ ।


एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टलको व्यवस्थापन गरिएको छ । 


सुनसरी उद्योग वाणिज्य सङ्घले दोस्रो पटक धरान एक्स्पो आयोजना गरेको हो । १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।


एक्स्पोमा डोम ह्याङ्गरको प्रयोग गरेर स्टलहरू राखिएको छ । डोमभित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल छन् । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी नहुने भएकोले सुरक्षित हुने सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।


एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरू पनि आयोजना हुनेछ । बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने छ । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ ।


एक्स्पोका बीच धरानमा खानेपानीको समस्या तत्काल समाधान गर्ने उपाय र साधन स्रोत जुटाउने विषयमा विशेष परामर्श गोष्ठी आयोजना गरिने जनाइएको छ । यस्तै  हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम, सांस्कृतिककार्यक्रम आयोजना हुनेछ भने चर्चित कलाकारहरूको कन्सर्ट आयोजना गरिने छ ।


त्यसको लागि एक्स्पो समय बिहान देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क रहने तर साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्ने छ ।


सुनसरी उद्योग वाणिज्य संघको अयोजनामा सुरु एक्स्पोमा विशेष सहयोगी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कोशी प्रदेश, प्रदेश सरकार, पर्यटन, व कोशी प्रदेश, प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रबन्ध केन्द्र वन तथा वातावरण मन्त्रालय रहेका छन् । प्रवर्द्धकमा जिल्ला समन्वय समिति, सुनसरी, नेपाल उद्योग वाणिज्य महासथ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल, नेपाल पर्यटन बोर्ड, धरान उप–महानगरपालिका छन् ।