महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग

न्युजलय २० साउन २०८०, शनिवार ११:१८ मा प्रकाशित

महोत्तरी । महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । 

जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।

जिल्लामा रहेका राजनीतिक दलहरु, विभिन्न कार्यालयका सूचना विज्ञ, कृषिसम्बद्ध विज्ञ, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सबै (१५ वटै)  स्थानीय तहका प्रमुख र विपद् व्यवस्थापन समितिका सदस्यहरुको सर्वपक्षीय बैठकले जिल्लालाई सुक्खाक्षेत्र घोषणा गर्न सरकारसमक्ष माग गरिएको समितिले  जनाएको छ । 

मुख्यबाली मानिएको धान लगाउन नसकिएको, लामो खडेरीले लगाइएका अन्य बाली पनि सुक्दै गएका र जताततै खानेपानीको समेत हाहाकार बढेपछि तत्काल विशेष राहत कार्यक्रमको आवश्यकता महसुस गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्णले बताए ।

समितिको बैठकले सुक्खाक्षेत्र घोषणा गर्दै प्राथमिकताका आधारमा खानेपानीको प्रबन्ध, अब लगाइने वैकल्पिक बालीका लागि किसानलाई सल्लाहसँगै बीउबिजन, मलखाद र आवश्यक प्रविधिको व्यवस्थापन गर्न सुझाएको छ । यसबाहेक खडेरीले निम्त्याउने भोकमरीको निदानका लागि समयमै खाद्यान्न व्यवस्थापन गरिन आवश्यक रहेको कर्णको भनाइ छ ।