कोसी अस्पतालका ४ चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

न्युजलय ३ माघ २०७८, सोमबार ०७:३८ मा प्रकाशित

विराटनगर । तेस्रो चरणको कोरोना संक्रमण बढेसँगै विराटनगरस्थित कोसी अस्पतालमा संक्रमितहरूको संख्या बढ्दो क्रममा छ ।


सोमबार सार्वजनिक भएको पीसीआर रिपोर्ट अनुसार ४ चिकित्सकसहित थप ८ स्वास्थ्यकर्मी संक्रमित देखिएका छन् । अस्पतालकी सूचना अधिकारी मञ्जु यादवकाअनुसार यसअघि अस्पतालका ३ चिकित्सकसहित २७ जनामा संक्रमणको पुष्टि भइसकेको थियो।


उक्त अस्पतालमा ८० चिकित्सक र ७६ नर्सिङ स्टाफसहित ५ सय १६ कर्मचारी कार्यरत छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत प्रदेशका ३१ अस्पतालले संक्रमितको उपचार गर्दैछ । प्रदेशमा चार सरकारीलगायत ९ बढी पीसीआर प्रयोगशाला सञ्चालित छन् ।


निर्देशक बस्नेतले निर्देशनालयको सूचना व्यवस्थापन इकाइ (इन्फर्मेसन म्यानेजमेन्ट युनिट, आइएमई) हेर्ने कर्मचारीलाई यससम्बन्धी तथ्यांक संकलन गर्ने जिम्मेवारी दिइएको बताए ।