विराटनगर विमानस्थलको रन वे क्लियर, शुक्रबारदेखि नियमित उडान गर्ने योजना

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार १२:२२ मा प्रकाशित

काठमाडौं । रनवेलगायत विमानस्थल परिसरमा पानी भरिएपछि उडान स्थगित भएको विराटनगर विमानस्थल शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विमानस्थलमा अड्किएका दुई विमानहरु बिहीबार काठमाडौं उडेपछि उडानलाई नियमित गर्ने तयारी थालिएको छ । 


वर्षाका कारण जलमग्न भएको उक्त विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको विमान फसेका थिए । रनवे क्लियर भएपनि अझै पनि विमानस्थल पुरै सफा भइसकेको छैन । मौसम सफा रहे कम्तिमा शुक्रबार र बढीमा शनिबारदेखि नियमित उडान सुचारु गर्ने तयारी विमानस्थल प्रशासनको रहेको छ ।