५० प्रतिशतसम्म छुट दिने गरी इटहरीमा जुत्ता चप्पल बिक्री कक्ष खुल्दै

न्युजलय २१ फाल्गुण २०८०, सोमबार ०४:०५ मा प्रकाशित

इटहरी । नेपाली जुत्ता चप्पल उत्पादकहरुहरुले इटहरीमा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष स्थापना गर्ने भएका छन् । कक्षमा ५० प्रतिशतसम्म छुट दिने उनीहरुले जनाएका छन् । 


नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्न लागेको बताएका छन् । बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सोमबार भएको पत्रकार सम्मेलनमा सञ्चालक नानीराज घिमिरेले बताए ।


बिक्री कक्षमा तीन हजार मोडलका जुत्ता चप्पल पाइने छन् ।  बिक्री कक्ष स्थापनाका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पुरा भएको अर्का सञ्चालक होमनाथ उपाध्यायले बताए । एउटै बिक्री कक्षबाट ६ वटा ब्रान्डका जुत्ताहरू छानी छानी किन्न सकिने उपाध्यायले बताए । बिक्री कक्षमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । नेपाली जुत्ता चप्पल पनि बलिया राम्रा डिजाइनका र सस्ता छन् भनेर ग्राहकलाई बुझाउन सामूहिक बिक्री कक्षको अवधारणा ल्याएको अर्का सञ्चालक रिजवान उल्लाहले बताए ।  


यसअघि इटहरीमा प्रथम फागुन १३ गतेबाट जुत्ता चप्पल व्यापार महोत्सव सञ्चालन हुँदै आएको छ । इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवार सकिनेछ भने सोही स्थानमा बिक्री कक्षको स्थापना गरिने छ । 

महोत्सव ३५ दिनका लागि सञ्चालन गर्ने अनुमति लिए पनि स्थानीय व्यापारीको अनुरोधमा १० दिनमा झार्दै बिक्री कक्ष स्थापना गर्न लागिएको नानीराज घिमिरेले बताए । महोत्सव आजसम्ममा ७५ हजार बढिले अवलोकन गरेको र ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।