प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०३:१७ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका थिए । 

कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए। 

तर, यस बीचमा दीपावली, छठ लगायतका चाडपर्व परेका कारण कात्तिक अन्तिममा विश्वासको मत लिएर मंसिर पहिलो साता मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको सरकारी स्रोतले जनाएको छ। 

प्रदेशसभामा आज बस्ने भनिएको बैठक सूचना प्रकाशित गरि कात्तिक ३० गतेसम्मका लागि स्थगित भएपछि सरकारले एकैपटक ३० गतेतिर विश्वासको मत लिने योजना बनाएको हो।