इटहरी । प्रदेशकै अग्रणी दुग्ध विकास सहकारी कामधेनुमा यादप ढकाल लगातार दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका छन् । अघिल्लो पटक प्रतिष्पर्धीलाई पराजित गरेर आएका ढकाल यो पटक निर्विरोध निर्वाचित भएका हुन् । अघिल्लो पटकसम्म तीव्र प्रतिष्पर्धा हुने अध्यक्षमा यो पटक ढकालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
यस्तै बाँकी पदमा भने विभिन्न सदस्यहरुको उम्मेदवारी परेको छ । संस्थाको निर्वाचन आगामी असोज २५ गते हुने कार्यतालिका छ । सहकारीका १७२० सदस्यहरुले भोट हाल्नेछन् ।
उपाध्यक्ष पदका लागि छथरजोरपाटी–६ का नगेन्द्रजंग थापा र लालीगुँरास–३ का ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुनेछ ।
सञ्चालक समितिको खुला सदस्य पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूमा विनोदप्रसाद गुरागाईँ, विज्ञान ढुंगाना, देवबहादुर कार्की, राजेन्द्र अधिकारी, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, धनबहादुर कटुवाल र भिमशंकर अधिकारी ‘राजु’ छन् ।
त्यस्तै, महिला सञ्चालक सदस्य पदमा दुर्गा अधिकारी, मूर्तिकुमारी भगत चौधरी, पदमदेवी बस्नेत, दिपा प्याकुरेल ओझा, सीतादेवी फुयाँल र शारदा खतिवडा गरी ६ जनाको उम्मेदवारी परेको छ।
लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा देवीप्रसाद भट्टराई र पदम सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ भने सदस्य पदका लागि बाबुराम कार्की, डण्डबहादुर खड्का, मनोज दाहाल र लोकेन्द्र काफ्ले उम्मेदवार छन् ।
कामधेनु दुग्ध विकास सहकारी संस्था ६ जिल्ला १० हजार बढी दुग्ध उत्पादक किसानसँग प्रत्यक्ष जोडिएको सहकारी भएकाले आगामी नेतृत्व चयनलाई सदस्यहरूले चासोका साथ हेरेका छन्।
चार वर्षअघि पहिलो पटक अध्यक्ष बनेका ढकालले सदस्यता वृद्धिलाई जोड दिए । जसअनुसार त्यतीबेला चार सय हाराहारी सदस्य रहेकोमा उनले सदस्यता विस्तार गरी १७२० बनाएका छन् । यस्तै दुग्ध क्षेत्रमा किसानले भोग्दै आएका समस्या, दूधको बजार, उत्पादन लागत, दाना–चोकरको मूल्य, पशुको नश्ल, गुणस्तर र समयमै बजार व्यवस्थापनजस्ता चुनौतीसँग जुध्दै ढकाल अघि बढेका छन् ।
हाल कामधेनुले ४३ वटा सदस्य संस्थाबाट दैनिक करिब २५ हजार लिटर दूध किन्दै आएको छ । कामधेनुले दुग्ध बिक्री गर्ने वा दैनिक कम्तीमा ६० रुपैयाँ बराबरको दूध उपयोग गर्ने व्यक्तिलाई समेत सदस्य बन्ने व्यवस्था गरेको छ ।
किसानलाई सहुलियतमा गाई उपलब्ध गराउने, उत्पादन लागत घटाउन साइलेज उत्पादन तथा भण्डारणमा लगानी गर्ने योजना बनाइएको छ । कामधेनुले किसानलाई पशु प्राविधिक सेवा, औषधि, बिमा सुविधा, दाना तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।
सहकारीले दूधलाई प्रशोधन गरेर छुर्पी, मिठाई, घ्यू, पनिर, बटर र आइसक्रिमलगायतका सामग्री उत्पादन गर्दै आएको छ ।