चक्रवाती आँधी दानाबारे भारतीय मौसम विभागले जारी गर्‍यो यस्तो अलर्ट

न्युजलय ८ कार्तिक २०८१, बिहिबार ०२:४९ मा प्रकाशित

काठमाडौँ । चक्रवाती आँधी दाना बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने सम्भावना छ । यसैलाई मध्यनजर गर्दै दुवै प्रदेशका प्रशासन तयारीमा जुटेका छन् । भारतीय मौसम विज्ञान विभागले दाना आँधीबारे जानकारी दिएका छन् ।

दाना आँधीले गत राति घातक चक्रवाती आँधीको रुप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा अगाडि बढ्दै गइरहेको विभागले जनाएको छ ।

दाना आँधी अहिले मध्य र उत्तर–पश्चिम बंगालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण–पश्चिममा रहेको बताइएको छ । यो उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको बताइएको छ । आँधीले बिहीबार राति तटीय क्षेत्रमा ठूलो चक्रवाती आँधी आउन सक्ने अनुमान गरिएको छ । यस अवधिमा यसको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा हुने भनिएको छ ।

मयुरभञ्ज, भद्रक, बालेश्वर, केन्द्रपारा, जाजपुर, जगतसिंहपुर, कटकमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी गरिएको छ । पुरी, खोर्दा, नयागढ, ढेनकनाल र केन्दोझार जिल्लामा ओरेन्ज अलर्ट जारी गरिएको छ । पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरेको छ ।