यो हो अहिलेसम्मकै धेरै कमाउने तमिल फिल्म

न्युजलय १३ भदौ २०७९, सोमबार ०२:२६ मा प्रकाशित

काठमाडौं । तमिल फिल्म उद्योगले एक पछि अर्को गर्दै एक से एक फिल्महरु दिइरहेको छ । बलिउड मुर्झाएको समयमा तमिल फिल्महरुले भने भारत र भारत बाहिरका हलहरुमा कमाल गरिरहेका छन् । यस्तैमा कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो ।

जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को कीर्तिमान राखेको थियो । तर यो फिल्म नेपाली बक्स अफिसमा भने चल्न सकेन ।

तमिलनाडुमा मात्र विक्रमलाई एक करोड दर्शकले हेरेको बताइएको छ । यसअघि सन् २०१० मा एथिरान फिल्मलाई धेरै दर्शकले हेरेका थिए । यो फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाउँदा ओभरसिजबाट मात्र १२४.९० करोड भारु कमाएको छ ।