खोटाङको जेलमा कैदीको मृत्यु

न्युजलय ३१ असार २०८३, बुधबार ०२:४५ मा प्रकाशित

खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।

असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । 

मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुनसक्ने अवस्था रहेको थियो ।