सुनसरी । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी, प्रशिक्षक र निर्णायकलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुनेमा माल्दिभ्समा हालै १३ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता झापाका ललित धिमाल, काठमाडौंमा सम्पन्न तेस्रो दक्षिण एसियन योगा खेलकुदमा स्वर्ण जित्ने झापाकी स्वेच्छा थापा, मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा स्वर्ण जित्ने मोरङका कृतिक कामत र मलेसियामै सम्पन्न २२ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिमा स्वर्ण जित्ने सुनसरीका अशेष मगर छन् ।
धिमाललाई २५ हजार र अन्यलाई जनही १५ हजारसहित सम्मान गरिएको हो । बोर्डले वरिष्ठ फुटबलकर्मी दिलीप राईलाई ५० हजार र फिफा सहायक रेफ्री किरण गिरीलाई १५ हजारसहित सम्मान गरेको छ ।
१३ औं राष्ट्रपति रनिङ सिल्डमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।