काठमाडौँ । जिउँदै मानिसलाई ईँटा भट्टामा हालेर जलाएको आरोपमा जेलमा रहेका काँग्रेस नेता अफ्ताव आलमको टार्गेटमा चलचित्र ‘लाज शरणम्’ टिम परेको छ । आलमले मुद्धा हालेपछि उच्च अदालतले चलचित्रका सबै काम रोक्न अन्तरीम आदेश दिएको छ ।
आफ्नो गेटअपमा चलचित्रमा सीताराम कट्टेल (धुर्मुस) देखिएपछि आलमले अदालतसमक्ष चलचित्र विकास बोर्ड, ओएसआर डिजिटल इन्टरटेनिङ्ग द नेशनल प्रालि, लाज शरणम् चलचित्रका कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री), तथा चलचित्रमा मोहम्मद अफताब आलमको आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुसलाई’ विपक्षी बनाएका छन् ।
आलमले मुद्दा दायरका क्रममा आफ्नो व्यक्तित्वको अधिकारमा आघात पर्ने जिकिर गरेका थिए । आफ्नो व्यक्तित्वमाथि जनमानसमा घृणा र घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) पैदा गरी मानहानीसमेत हुने उल्लेख गरेका थिए ।
उनले सञ्चार जगतमा प्रकाशन र प्रशारण भएको पोस्टर र ट्रेलर हटाइ चलचित्र प्रदर्शनीको थप काम नगर्न नगराउन माग गर्दै यथास्थितिमा राख्नका लागि अन्तरिम आदेश माग गरेका थिए।
अन्तरिम आदेशअन्तर्गत आज भएको छलफलमा आलमको तर्फबाट अधिवक्ताहरु सरोज कृष्ण घिमिरे, रोशनी पौडेल, श्री रामेश्वर न्यौपानेले बहस गरेका थिए भने चलचित्रको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ताहरु विपना शर्मा, चिरन्जिवी खतिवडा, भावेश गौतम, महेश्वर श्रेष्ठ तथा सरकारी वकिलहरुले बहस गरेका थिए ।
्