काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ ।
बिजुली किन्दा बिड नपरेका दिनमा साँझदेखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३३० मेगावाटसम्मको बिजुली कटौती गर्न थालिएको छ । रूस(यक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ ।
प्रतियुनिट भारु २० रुपैयाँसम्म पनि बिड नपरेपछि त्यसभन्दा माथि मूल्यमा गएर खरिद नगर्ने बताए । ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।
भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा बिजुली नै नपाएको हुनाले केही दिन नेपालमा बिजुली अभाव हुने अवस्था देखिएको प्रवक्ता भट्टराईले बताए ।
अहिले करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्छ । अहिले दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई विद्युत आपूर्तिमा केही समय आएको संकट भन्दै आएका छन् । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको प्राधिकरणको दावी छ ।