काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ ।
टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।
उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।
नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।