काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।
अदालतले निलम्बित मेयर थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैया गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको छ ।
अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय बढी देखिएको रकमलाई गैरकानुनी आर्जन ठहर गरेको हो ।
अदालतको फैसलाअनुसार, जाँच अवधिमा थापाको कूल आय ९ करोड १४ लाख ३१ हजार हुँदा खर्च भने १२ करोड ५९ लाख ५३ हजार देखिएको थियो । आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि अदालतले कसूर ठहर गरेको हो ।
अदालतले उक्त बिगो बराबरको सम्पत्ति र सोबाट बढेरबढाएको सम्पत्तिसमेत जफत हुने आदेश दिएको छ ।
यसैगरी, विशेष अदालतले मेयर थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी पुर्याएको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ ।