काठमाडौँ । बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ ।
त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् ।
अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ ।
देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।