इटहरी । सुनसरीमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा ८ वटा कृषि फार्म प्रभावित भएका छन् ।
इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिका का एक–एक फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ।
कार्यालय प्रमुख डा. मनोज कुमार महतोका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा मात्र ११,०२० कुखुरा र ११,३०० अण्डा नष्ट गरिएको छ।
यसबाहेक विभिन्न फार्महरूमा सयौँदेखि हजारौँसम्म कुखुरा नष्ट गरिएका छन्। प्रभावितमध्ये इटहरी, दुहवी र गढीका फार्महरूमा संक्रमण पुष्टि भइसकेको छ भने अन्य स्थानमा पनि जोखिम बढेको छ।
महतोले फार्म सञ्चालकहरूले हालसालै बाहिरबाट कुखुरा नल्याएको बताए पनि अण्डा र दाना ओसारपसार गर्ने सवारी साधनमार्फत संक्रमण फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको छ भने पंक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ। साथै संक्रमित फार्महरूमा खोर सफाइ, डिसइन्फेक्सन र निगरानी अभियान सञ्चालन भइरहेको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न पाइने छैन।