मोरङमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

न्युजलय १२ चैत २०८२, बिहिबार १०:५३ मा प्रकाशित

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा कानेपोखरी गाउँपालिका–७ का ५८ वर्षीय वीरेन्द्र कार्की गम्भीर घाइते भएका थिए।

घाइते कार्कीलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोरङ ट्राफिक प्रहरीका अनुसार टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा संलग्न टिपर तथा चालक कानेपोखरी–५ का २९ वर्षीय अभिषेक दर्जीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।