भोजपुर । भोजपुरका तीन स्थानीय तहको आयोजनामा ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ आयोजना हुने भएको छ । यसअघि मंसिर २०, २१ र २२ गते हुने भनिएको प्रतियोगिता यही चैत २१ र २२ गते हुने भएको हो ।
भोजपुरका दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त रुपमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगिताका लागि तीनवटा पालिकाले ५–५ लाख रुपैयाँ छुट्याएका छन् ।
ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने भोजपुरको सबैभन्दा होचो स्थान हसनपुर कोप्चेबाट पाँचधारे तावाभञ्ज्याङसम्म रेस हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए ।
रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता विभिन्न तीन विधामा सञ्चालन हुनेछ । ६० किलोमिटर दूरीको विधामा भाग लिन योग्यता निर्धारण गरिएको छ । यो विधामा प्रथम हुनेले ८० हजार, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ र मेडल पाउनेछन् ।
त्यस्तै, ४५ किलोमिटर दूरीको विधामा सहभागिताका लागि सबै प्रतियोगीलाई खुला गरिएको छ । यो विधामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ र मेडल पाउनेछन् ।
त्यस्तै, ४० वर्षभन्दा माथिका भेट्रान्स विधाका प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार र मेडल प्रदान गरिनेछ । तीनवटै विधाका महिला र पुरुष विजेतालाई समान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा १ सय जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ एजुकेसन एन्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।