१५ करोडको लगानीमा विराटनगरमा आर्या न्युरो अस्पताल सञ्चालनमा

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०७:५४ मा प्रकाशित

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा १५ करोड लगानीमा आर्या हस्पिटल अफ न्युरो सर्जिकल एंड अलायिड सयिन्सेस प्रालि सञ्चालनमा आएको छ ।


लामो समयदेखि न्युरो सर्जरी सेवा प्रदान गर्दै आएका विराटनगर तीनटोलीका डा. पंकज राज नेपालसहित तीन जनाको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा डा.नेपालसहित अर्चना चौधरी र दिनेश ठाकुरको पनि लगानी छ ।


बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउन लागेको अस्पतालमा न्युरोसम्बन्धी सम्पूर्ण सेवाहरु पाइने जनाइएको छ । अस्पतालका प्रबन्ध निर्देशक नेपालका अनुसार न्युरोसम्बन्धी सम्पूर्ण सेवाहरु, हार्ड जोर्नीसम्बन्धी सम्पूर्ण सेवाहरु, नाक कान घाँटीसम्बन्धी सेवाहरु, दन्त चिकित्सकीय सेवाहरु, जेनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियनसम्बन्धी सम्पूर्ण सेवाहरु, फिजिओथेरापी सेवाहरु, आईसीयू तथा भेन्टिलेटर सेवा, सीटी स्कान, एमआरआई लगायत आवश्यक सम्पूर्ण सेवाहरु प्रदान गरिनेछ ।


अस्पताल २५ शय्याको रहेको नेपालले जानकारी दिए । ‘अहिले हामीले २५ शैयाको अस्पताल बनाएको छौंं, उनले भने, ‘अब छिट्टै ५० शय्याको पुर्याउँदै छौं । त्यसका लागि सामाजिक विकास मन्त्रालयमा निवेदन दिइसकेका छौं ।’


अस्पतालमा अहिले १०० जनाले रोजगारी पाएका छन् भने अस्पताल ५० शय्याको हुँदा २०० जनाले रोजगारी पाउने नेपालले बताए । अस्पतालमा मेडिकल टिम १५ जना र नर्स १२ जना रहेका छन् । आवश्यकताअनुसार जनशक्ति पनि थप्दै जाने उनले बताए ।


अस्पतालका निर्देशक दिनेश ठाकुरले नयाँ प्रविधियुक्त अस्पताल रहेको बताए । 


अस्पतालले केही समयमा नै स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकका लागि १ लाख सम्मको निःशुल्क उपचार सेवा प्रदान गर्ने अस्पतालकी अध्यक्ष अर्चना चौधरीले बताइन् । कोही पनि स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर १० प्रतिशत शैया असहायका लागि छुट्याई निःशुल्क उपचार गर्ने लक्ष्य अस्पतालको रहेको चौधरीको भनाइ छ ।