काठमाडौ । २ सय ३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री भएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर दुई दिन लगातार सर्किट हान्दै ओह्रालो लागेको छ । किन्ने कोही नभएपछि शेयरको मूल्य घटेको हो ।
आइतबारबाट कारोबार शुरू भएको कम्पनीका लगानीकर्ताहरू सेयर बिक्री गरेर पन्छिने मनस्थितिमा देखिन्छन् । अर्कोतर्फ खरीदकर्ताहरु एक जना पनि सोनापुरको शेयर किन्न आएनन् । आइतबार ३ सय ५० रुपियाँमा कारोबार खुलेको थियो । तर किन्ने कोही नहुँदा दुई दिन लगातार १०–१० प्रतिशतले मूल्य घटेको छ । सोमबार पनि १० प्रतिशतले घटेर २ सय ८३ रुपियाँमा सीमित भएको छ ।
मंगलबार र बुधबार पनि शेयरको मूल्यमा नेगेटिभ सर्किट लाग्यो भने रकम २२९ रुपैयामा झर्नेछ, जुन खरीद मूल्यभन्दा कम हो । र यस्तो हुने सम्भावना ज्यादा छ ।
किन बिकेन सोनापुरको शेयर :-
शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गरेको आरोप सोनापुरमाथि लागेको छ ।
सर्वसाधारण लगानीकर्तालाई गुमराहमा राखेर कम्पनीले आईपीओ बिक्री गर्न सफल भए पनि धितोपत्रको दोस्रो बजारमा खरिदकर्ता अनिच्छुक भएका हुन् ।
यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाका निम्ति निष्कासन गरिएको १५ लाख कित्ता सेयर उनीहरूले बहिष्कार गर्दै ९७ हजार कित्ता मात्रै आवेदन परेको थियो । स्थानीयले बहिष्कार गरेको सेयर पनि सर्वसाधारणलाई थप गरी सय रुपियाँ अंकित मूल्यमा १ सय ३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर ७ लाख ३२ हजार ५ सय ४४ कित्ता बिक्री गरेर आएको रकमले कम्पनीले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको थियो ।
आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर बितेका तीन आर्थिक वर्षको ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफा देखाएको थियो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।