रास्वपाकी प्रभावशाली नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, नेतृत्वले गल्ती दोहोर्याइरहेको दावी

न्युजलय २९ भदौ २०८२, आइतबार ०६:५६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ तथा पूर्वसांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन् ।


श्रेष्ठले पार्टी सभापति रवि लामिछानेले गल्ती दोहोर्याइ रहेको र आफूविरुद्ध मिडिया ट्रायल गरिएको बताएकी छिन् ।  रास्वपाभित्र गल्तीलाई कहिल्यै स्वीकार नगर्ने, निरन्तर गल्ती गर्ने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्थाले आफूलाई निराश बनाएको उनले बताइन् ।


श्रेष्ठ सांसद तथा मन्त्री हुँदा उनको काम गराइ र तर्क राख्ने क्षमताको सर्वत्र प्रशंसा गरिएको थियो । सादगी तथा जिम्मेवार व्यवहारका कारण उनले राम्रो नेतृको छवी बनाएकी छिन् । उनले पार्टी व्यक्ति केन्द्रित भएको पनि आरोप लगाएकी छिन् ।


‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले केही फरक पार्दैन भन्ने अनुभव भयो । बरु उल्टै आलोचकहरूमाथि मिडिया ट्रायल हुन थाल्यो, जुन अस्वीकार्य छ,’ उनले लेखेकी छन्।


श्रेष्ठले अगाडि थपेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।’


शिक्षामन्त्री समेत रहेकी पूर्वसांसद श्रेष्ठले कांग्रेस, एमाले लगायतका अन्य ठूला पार्टीका तेस्रो पुस्ताका नेताहरूमाथि पनि प्रश्न उठाउँदै आफ्ना नेताको पूजा बन्द गर्न आह्वान गरेकी छन् ।