गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१, सामागाउँमा मनास्लु हिमाल आरोहणका लागि पुगेका एक विदेशी आरोहीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिंगापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन्। उनको बिहीबार मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्पतर्फ फर्किने क्रममा मृत्यु भएको हो।
बेसक्याम्पतर्फ फर्किने क्रममा सेङलाई हिँड्न कठिनाइ भएपछि उनी बाटोमै बसेका थिए। त्यही अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सेङ एट के एक्सपिडीसन कम्पनीमार्फत आवश्यक अनुमति लिएर मनास्लु आरोहणका लागि गएका थिए। उनी भदौ २२ गते आरोहणका लागि सामागाउँ पुगेका थिए।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।