विराटनगरमा २५ तले व्यापारिक कमप्लेक्स बन्दै

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०१:०२ मा प्रकाशित

विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तले व्यापारिक कमप्लेक्स निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको गुद्रीबजार क्षेत्रमा अवस्थित १४ कट्ठा जग्गामा व्यापारिक कमप्लेक्स निर्माण गर्न सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको हो । 


महानगरमा कार्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र एक नम्बर प्रदेश सरकारको लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

परियोजनाको काम आगामी तीन महिनाभित्रै सुरु हुने र स्वदेशी लगानी करिब रु ५ अर्बमा निर्माण हुने कार्यक्रममा जानकारी दिइयो । त्यस अवसरमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्यापारिक कम्प्लेक्स निर्माणले विराटनगरको व्यापारिक छविलाई थप टेवा पुग्ने बताए । 


नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीको रूपमा रहेको विराटनगरमा अन्तर्राष्ट्रियस्तरको व्यापारिक कमप्लेक्स निर्माण हुनु आफैँमा सकारात्मक विषय भएको बताए । 

 

व्यापारिक कम्प्लेक्स तीन वर्षभित्र निर्माण भइसक्ने र यसमा निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली, २०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही परियोजना सम्पन्न हुने बताइएको छ ।