कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

न्युजलय १० भदौ २०८०, आइतबार ०६:२९ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ।

साथै हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।