कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु पक्राउ

न्युजलय २६ भदौ २०८१, बुधबार ०२:५७ मा प्रकाशित

काठमाडौँ । कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुमाथि विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप छ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै।कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।