विराटनगर । आइतबार (आज) प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल हुँदै थियो । शुक्रबार प्रस्तुत प्रस्तावमा आज नै मतदानसमेत हुने तय गरिएको थियो । कतिपयले त आइतबार आचार्यले विश्वासको मत गुमाउने अनि सोमबार नेकपा एसका राजेन्द्र राई मुख्यमन्त्री बन्ने घोषणा समेत गरेका थिए ।
तर विश्वासको मतबारे छलफल हुने दिन बिहानै प्रदेशको राजनीतिक वृत्तमा तरंग छायो । नेपाली काँग्रेसका सांसदहरुलेसमेत उनको पक्षमा मतदान गर्ने हल्ला चलेपछि प्रदेश १ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठक स्थगित गर्न माग गरेको छ । तत्कालको जोखिलाई टार्न उसले बैठक रोक्न माग गरेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमणलाई कारण देखाउँदै उसले प्रदेशसभा स्थगित गर्न सचिवालयमा निवेदन बुझाएको छ ।
आचार्यलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन् । आचार्यलाई काँग्रेसका ६ सांसदले साथ दिए उनको मुख्यमन्त्री पद जोगिने देखिन्छ । दुई महिनापछि विश्वासको मत लिन लागेका आचार्यलाई नेपाली काँग्रेसका साँसदले साथ दिन लागेको सुचना फैलिएको हो ।
नेपाली काँग्रेसले बैठक रोक्न माग गरेपछि उता नेकपा एमालेले पनि कार्तिक १५ गतेसम्म बैठक रोक्न माग गरेको छ । एमालेले पार्टीको महाधिवेशन र बैठकको कारण कार्तिक १५ पछि मात्र बैठक बस्न सकिने जनाएको हो ।