काठमाडौँ । गैरआवासीय नेपाली संघको आइतबार र सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।
संघभित्र प्रतिनिधि छनौटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार जना रहेको समिति गठन गरेका थिए । तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ ।
भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन् । यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।