भारतलाई हराउँदै बंगलादेशले जित्यो यू–१९ महिला साफ च्याम्पियनसिपको उपाधि

न्युजलय ८ पुस २०७८, बिहिबार ०३:०४ मा प्रकाशित

काठमाडौं । भारतलाई हराउँदै बंगलादेशले साफ यू १९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। 


बुधबार ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा भारतलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले लगातार दोस्रो पटक साफ उपाधि उचालेको हो।


बंगलादेशलाई दोस्रोपटक साफ उपाधि दिलाउन आनी बोगानीले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १० मिनेट बाँकी रहँदा उनले गोल गर्दै टिमलाई उपाधि जिताएकी हुन्।


यसअघि आइतबार समूहचरणको अन्तिम खेलमा श्रीलंकालाई १२ फराकिलो गोल अन्तरले हराउँदै बंगलादेशले अपराजित रहँदै उपाधि नजिक पुगेको थियो।

 

यस्तै समूह चरणको अन्तिम खेलमा नेपाललाई १-० ले हराउँदै भारत उपविजेता हुँदै फाइनलमा पुगेको थियो।