विद्यार्थीले परीक्षामा एआई प्रयोग गरे रद्द गर्ने त्रिविको निर्णय

न्युजलय ८ असोज २०८१, मङ्गलबार ११:४६ मा प्रकाशित

काठमाडौँ । विद्यार्थीले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरे त्रिभुवन विश्वविद्यालयले रद्द गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमबार बसेको बैठकले परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय स्वास्थ्योपचार र प्रविधिको विकासमा एआईको प्रयोग भइरहँदा शिक्षामा यसले पारेको प्रभावबारे बहस भइरहेको छ ।

एआईले विद्यार्थीको सिकाइलाई प्रत्यक्ष प्रभाव पारेको समेत विज्ञहरूले बताउँदै आएका छन् । एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान तथा निगरानीमा राख्ने प्रणाली बनाए पनि प्रभावकारी भने हुन सकेको छैन ।