अफ्ताब आलमको रिहाइ न्यायालयको इतिहासमै कलंक : नारायणकाजी श्रेष्ठ

न्युजलय १६ जेठ २०८२, बिहिबार ११:३० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वमन्त्री अफ्ताब आलमको रिहालाई न्यायपालिकाको इतिहासमै ‘कलंक’को रुपमा उल्लेख गरेका छन् ।


श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उच्च अदालत वीरगञ्जले गरेको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गरेका हुन् ।


जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदो मानिस जलाएर हत्या गरेको अभियोगमा अफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर सो निर्णय उल्ट्याउँदै उच्च अदालत वीरगञ्जको जनकपुर इजलासले बुधबार आलमलाई सफाइ दिँदै रिहा गर्ने आदेश दिएको थियो। आदेशपछि उनी सोही दिन ललितपुरको नख्खु कारागारबाट मुक्त भएका थिए।


श्रेष्ठले भनेका छन्, ईटाभट्टामा मानिस जिउँदै जलाएर मारेको जस्तो जघन्य अपराधमा संलग्न ठहर भइसकेका व्यक्तिलाई सफाइ दिएर रिहा गर्नु न्यायपालिकाको इतिहासमै कलंकको रुपमा दर्ज हुनेछ।


उनले यस्ता निर्णय दिने न्यायाधीशहरूलाई कलंकको कालो टीका लगाउने बहादुरको संज्ञा दिँदै भनेका छन्, नेपाली जनताले यस्ता न्यायाधीशहरूलाई कहिल्यै बिर्सने छैनन्।


श्रेष्ठले अपराधीलाई निर्दोष साबित गरेर समाजमा हिंड्ने वातावरण बनाइनुले आम जनमानसमा गहिरो असुरक्षा र निराशा पैदा गर्ने बताए। साथै, उनले यस्ता प्रवृत्तिविरुद्ध सबै क्षेत्रमा सुधार र कारबाहीसहितको व्यापक जनअभियान आवश्यक रहेको धारणा राखे।