इटहरी । व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै पाँचतारे होटल र क्यासिनो सञ्चालन गरिरहेका छन् । उनले झापामा द किंग्सबरी होटलमा क्यासिनो ‘सेभेन हर्स’, होटल मेची क्राउनमा ‘क्यासिनो भेगास’ र भैरहवाको टाइगर प्यालेसमा ‘क्यासिनो टाइगर प्यालेस’ सञ्चालन गर्दै आएका छन् । यी क्यासिनोमा दुई हजार जनाले रोजगारी पाएका छन् । यस्तै नेपाल सरकारले राजस्वसमेत पाएको र विदेशी मुद्रा नेपाल भित्रिएको उनको भनाई छ ।
नेपालकै चर्चित क्यासिनो अन्ना र क्यासिनो एभरेष्टबाट सुरु भएको उनको हस्पिटालिटी क्षेत्रको यात्रा अहिले भारतको गोवादेखि अन्तरराष्ट्रिय गेमिङ उद्योगसम्म फैलिएको छ । गोवामा क्यासिनो ‘विग ड्याडी’ समेत उनले सञ्चालन गरिरहेका छन् ।
द किंग्सबरी होटल १ अर्ब ९५ करोड रुपैयाँमा खरिद
उनले हालैमात्र खरिद गरेको झापाको द किंग्सबरी होटलमा समेत क्यासिनो सञ्चालनमा छ । उनले १ अर्ब ९५ करोड रुपैयाँमा होटल खरिद गरेका छन् । यहाँ ८२ वटा लक्जरी कोठाहरू रहेका छन् । जसमा ६ सुइट्स, ५ एक्जिक्युटिभ, र ७१ डिलक्स रूम रहेका छन । मनोरञ्जनको प्रिमियम सुविधा रहेको उक्त होटलमा रुफटप बार, पुलसाइड बार, फिटनेस सेन्टरसहित स्वीमिङ पुल र स्पा रहेको छ । सर्वकालिक डाइनिङसहितको रेस्टुराँ रहेको उक्त होटलमा शाकाहारीका लागि छुट्टै रेस्टुराँ रहेको छ । होटलले प्रत्यक्षरुपमा ३ सय जनालाई रोजगारी दिनेछ । नेपालमा पर्यटनको बढ्दो सम्भावना र नेपाल भारत सीमा क्षेत्रमा क्यासिनो व्यवसायको सम्भावना उच्च देखिएकाले लगानी विस्तार गरेको धितालले बताए ।