इटहरीमा देखिएको यौनजन्य तथा आपराधिक विकृतीलाई संयन्त्र बनाएर नियन्त्रण गरिने

न्युजलय २६ भदौ २०८३, शुक्रबार ०९:२५ मा प्रकाशित

इटहरीमा देखिएको यौनजन्य तथा आपराधिक गतिविधि नियन्त्रणका लागि साझा संयन्त्र बनाइने भएको छ । महिला सञ्जाल इटहरीले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसमेतले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

इटहरीमा रात परेपछि खासगरी पश्चिम लाइनमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले ग्राहक खोज्ने, हिडिरहेका मानिसहरुलाई समात्ने, धम्की दिने, लुट्ने गरेको गुनासो बढ्दै गएको थियो । त्यसका साथै स्कुले बालिकाहरुसमेत रातभरी बजार घुम्ने र यसले आपराधिक घटना बढाउने जोखिम आँकलन गर्दै महिला सञ्जालले छलफल आयोजना गरेको थियो । 

छलफलमा सहभागिहरुले यस्ता घटनामा पीडित हुनेहरुले उजुरीसमेत गर्न नचाहने बताएका थिए । उजुरी गर्न जाँदा उल्टो मानहानी हुने, परिचय खुल्ने र कतिपय अवस्थामा उल्टै प्रहरीहरुले पैसा माग्ने गरेको पनि गुनासो गरिएको थियो । 

छलफलमा सहभागिहरुले अल्पसंख्यकहरुको अधिकार र जीविकाका सवाललाई सम्मान गरेपनि विकृती र अपराधमा भने निर्मम हुनुपर्ने सहभागिहरुले धारणा राखेका थिए । उनीहरुले कुनैपनि व्यक्ति वा समुहले कानुनविपरीतका काम गर्न नहुने र त्यो नियन्त्रण गर्ने सवालमा मुख्यतः प्रहरीहरु सक्रिय हुनुपर्ने धारणा  राखेका थिए । जसमा सहभागिहरुले सहमती जनाएका थिए ।

यस्तै इटहरी उपमहानगरपालिका र स्थानिय प्रशासनको तर्फबाट इटहरीको रात्रिकालीन बजारलाई मर्यादित र व्यवस्थीत बनाउन आवश्यक ठाउँमा सि.सि. क्यामेरा र सडक बत्ती जडान गर्ने, साथै सुरक्षा गस्तीलाई नियमित गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

शंकास्पद व्यक्तिहरुको सुक्ष्म निगरानी गरी रेकर्ड राख्ने र कडा कानुनी कारवाही गर्नुपर्ने माग गरिएको थियो । 

यस्तै इटहरी उपमहानगरपालिका र स्थानिय प्रशासनको तर्फबाट नेपालको प्रचलित कानुन बमोजिम इटहरी उपमहानगर क्षेत्रमा लैंैगिक मैत्री हिरासतको व्यवस्था गर्ने प्रतिबद्धतासमेत गरिएको थियो । यस्तै स्थानिय प्रशासनले पिडितको उजुरी गोप्य राखी अपराध अनुसन्धान गर्ने प्रतिबद्धता गरेको थियो । 

इटहरीमा केही वर्षपहिला बसपार्क क्षेत्रमा होटल व्यवशायको आवरणमा यौन व्यापार हुने गरेको थियो । जसले गर्दा इटहरीलाई रेडलाइट एरिया घोषणा गर्नुपर्नेसम्मका मागहरु उठेको थियो । तर प्रहरीले मिसन नै बनाएर व्यापारमा लगाउने महिलाहरुलाई पक्राउ गरेपछि समस्या समाधान भएको थियो ।

अहिले पनि केहीले यौन व्यापारलाई व्यवस्थित गर्नुपर्ने माग राख्दै आएका छन् भने केहीले इटहरी झन् बद्नाम हुने भन्दै कानुनले समेत वर्जित गरेको गतिविधि हुन दिन नहुने धारणा राखेका छन् ।

महिला सञ्जाल अध्यक्ष तथा पुर्वमेयर लक्ष्मी गौतमले विकृती न्युनिकरणमा सबै पक्षले आफ्नो जिम्मेवारीअनुसार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सिना, पुर्वमन्त्री रेवती भण्डारी, कोशी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, प्रहरी, व्यवशायी, संघसंस्था, नागरिक समाज,  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।