विराटनगरमा चोर्न गएका युवा छतबाट लडेर गम्भीर घाइते

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार १२:३७ मा प्रकाशित

विराटनगर । विराटनगरको एउटा घरमा चोरी गर्न  छिरेका एकजना युवा छतबाट लडेर गम्भीर घाइते भएका छन् । 

विराटनगर–८ की हेमकुमारी भुजेलको घरमा छिरेका मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास शुक्रबार बिहान लडेर घाइते भएका हुन् । 

घरमा चोरी हुन लागेको थाहा पाएपछि घरधनीले होहल्ला गर्दा भाग्ने क्रममा विश्वास लडेर घाइते भएको मोरङ प्रहरीले जनाएको छ । होहल्ला हुन थालेपछि विश्वास हेमकुमारीको घरबाट हामफालेर छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए । 

यादवको घरको छतबाट हामफालेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका विश्वासको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उनका अनुसार गम्भीर अवस्थाका युवालाई उपचारका लागि तत्काल कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

कोसीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।