सुकुनामा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र चालक पक्राउ

न्युजलय ४ साउन २०८३, सोमबार ०१:११ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । सुन्दरहरैँचा नगरपालिकाले आरोपितहरूलाई तत्काल निलम्बन गरेर कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ । 

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् ।

भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । 

विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने,परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

छात्राहरूमाथि यौनजन्य दुव्र्यवहारसमेत भएको हुनसक्ने आशंकालाई आधार बनाएर अनुसन्धानको दायरा थप विस्तार गरिएको प्रहरीले जनाएको छ ।