बजेट निकासामा त्रुटी देखाउँदै हस्तान्तरण भएन इटहरी रंगशाला

न्युजलय २० मङ्सिर २०८०, बुधबार १२:३४ मा प्रकाशित

सुनसरी । स्पोर्टस् कम्प्लेक्स बनाउने भनेर ३७ करोड रुपैयाभन्दा बढी खर्च भएको इटहरी रंगशाला अहिले अलपत्र परेको छ । इटहरी रङ्गशालाको स्वामित्व हस्तान्तरण नगर्दा संरक्षणको अभावमा अलपत्र परेको हो । 


राखेपका तत्कालीन सदस्य सचिव केशवकुमार विष्टले रङ्गशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराँते भवन, टेबल टेनिस लगायत खेलका पूर्वाधार बनाउन बजेट उपलब्ध गराएका थिए । उनीपछि आएका सदस्य सचिवले बजेट निकासामा त्रुटी देखाउँदै थप बजेट दिन आनाकानी गरेपछि अहिले रंगशाला अलपत्र परेको हो ।


स्वामित्व हस्तान्तरण नगर्दा स्थानीय र प्रदेश सरकारलाईसमेत त्यसमा लगानी गर्न समस्या छ । 


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले रङ्गशालामा प्रक्रियागतरुपमा नबनाइएका संरचनाका कारण निर्माण काम अधुरै रहेको बताए । ब्याडमिन्टन कोर्ट भवन बाहेक अन्य कुनै पनि संरचनाको शतप्रतिशत निर्माण कार्य नसकिएको बताइएको छ । अब बस्ने राखेपको बोर्ड बैठकले यसबारे निर्णय लिने घिसिङको भनाई छ ।


रंगशालाभित्र चार हजार दर्शक अट्ने भिआइपी प्याराफिट छ भने एकैसाथ एक दर्जन खेल सञ्चालन गर्न सकिन्छ ।