सुनसरी । बजेटमा गलत प्रावधानको कारण समस्यामा परेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुले कर्मचारी कटौती सुरु गरेका छन् । बजेटमा कर बढाइएपछि समस्यामा परेका उद्योगहरुले बाध्य भएर कर्मचारी कटौती थालेका हुन् ।
औद्योगिक क्षेत्रमा रहेका एमएस वायर रडमा आधारित पायोनियर, प्रिमियर वायर, हुलास वायर, कमला स्टिल र अरिहन्त वायरले कर्मचारी कटौती गर्दै उद्योग बन्दको प्रक्रिया सुरु गरेको उद्योग संगठन मोरङले जनाएको छ ।
करिब ५ वटा उद्योगहरुको यस्तो नीतिका कारण करिब एक हजार कर्मचारीको रोजगारी कटौती हुने संगठनले जनाएको छ । बजेटमा अन्तशुल्क बढेपछि उद्योग सञ्चालन हुनै नसक्ने अववस्था सृजना भएको उद्योगीहरुको गुनासो छ ।
उद्योगहरुले कर्मचारी कटौतीको बारेमा श्रम कार्यालय विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा सुचनासमेत पठाइसकेका छन् ।