उपभोक्तामाथि आयल निगमको बेइमानी, तीनपल्ट मूल्य घटेर आउँदा पनि नेपालमा घटाइएन

न्युजलय ३२ साउन २०७९, बुधबार ०६:५३ मा प्रकाशित

काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पछिल्लो तीन पटक मूल्य लगातार घटाएर इन्धन पठाइरहेपनि नेपालको आयल निगमले भने मुल्य घटाउन चासो दिएको छैन ।

आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगरेको हो । 

आईओसीलाई चार महिनादेखि सम्झौताअनुसार भुक्तानी दिन नसकेको र सरकार तथा वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दायित्व रहेकाले मूल्य यथावत् राख्नुपरेको निगमले जनाएको छ । आईओसीको नयाँ मूल्यसूचीअनुसार पनि मासिक घाटा करिब ६२ करोड रुपैयाँ छ । घाटाकै कारण आईओसीलाई २३ अर्ब तिर्न नसकेको बताइएको छ । सरकार, वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने ब्याज मात्रै मासिक १४ करोड छ ।

उपभोक्ताकर्मीहरू भने सरकारले इन्धनको मूल्य समायोजन नगरेर उपभोक्तामाथि बेइमानी गरिरहेको आरोप लगाउँछन् । मूल्य बढ्दा तत्काल बढाउने तर घट्दा समायोजन नहुने प्रवृत्तिले उपभोक्तालाई जे गरे पनि भइहाल्छ भन्ने भान सरकारले दिइरहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।