हतुवागढीमा जारी भिमदल स्मृती गोल्डकपमा सुन्तुमराक्दुम र बालंखा सेमिफाइनलमा प्रवेश

अर्जुन राई अपहेलित ३ पुस २०७८, शनिवार ०१:१४ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटार स्थित जारी 'छैठौं भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८' को दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।

श्री सगरमाथा माविको खेलमैदानमा बिहीबारबाट सञ्चालित उक्त पुरुष फुटबल प्रतियोगितामा शुक्रबार पहिलो चरणमा चार टिम क्वाटर फाइनल र दुई टिम सेमिफाइनल खेल सम्पन्न भएको हो । 

नकआउट चरणमा भइ रहेको उक्त प्रतियोगितामा (शुक्रबार) पहिलो चरणको खेल अन्तर्गत कोदार फुटबल क्लब (kfc) भोजपुरले भक्तबोलना फुटबल क्लब छिन्ताङ, धनकुटालाई ० का विरुद्ध ८ गोल गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

त्यस्तै सिन्द्राङ फुटबल क्लब हतुवागढी-३ लाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै पौवादुम्मा फुटबल क्लब पनि क्वाटरफाइनल प्रवेश गरेको छ भने जरायोटार फुटबल क्लबलाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै घोडेटार फुटबल क्लब समेत क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार समन्न आम्तेक फुटबल क्लब भोजपुरले सम्मुगाउँ फुटबल क्लब छिन्ताङ धनकुटालाई २ का विरुद्ध ६ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

डिफेन्डिङ्ग च्याम्पियन सुन्तुम रात्तुम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा क्षमाकन्या फुटबल क्लबसँगको खेलमा ०-० को नतिजा निकाले पछि भएको टाइब्रेकरमा क्षमाकन्या फुटबल क्लब ५-४ ले पराजित भएको थियो । 

शुक्रबार सम्पन्न दोस्रो खेलमा मिरमिरे फुटबल क्लब हतुवागढीलाई बालंखा फुटबल क्लब आमचोकले ० का विरुद्ध ३ गोल गर्दै सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । बालंखाको लागि जर्सी नं. ११ का रामकृष्ण तामाङ्ग खेलको ९ मिनेटमा अग्रता लिएका थिए । भने २ मिनेटको अन्तरमा मिजास लिम्बुले खेलको अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफ १६ औं मिनेटमा सरोज राईले तेस्रो गोल गर्दै टिमको जित सुनिश्चि गरे । 

शनिबार (आज) हुने खेलबाट तेस्रो र चौंथो सेमिफाइनलमा पुग्ने टिमहरुको टुङ्गो लाग्ने छ । आजको पहिलो खेल पोल ए बाट कोदार फुटबल क्लब र घोडेटार फुटबल क्बलले सेमीफाइनल प्रवेशका लागि भिड्नेछन् । भने आजको दोस्रो खेल बी पोलबाट आम्तेक ११ र पौवादुङ्मा गाउपालिका खेल्नेछन् । 

पौष १ गतेबाट शुरु भएको यस संस्करणको विजेता टिमले नगद रु. १ लाख छैसठी हजार ६ सय तीसका साथमा रनिङ्ग शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद रु. १ लाख १ हजार ३०, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

भीमदल राई स्मृति प्रतिष्ठानले आयोजना गर्ने हतुवागढी गोल्डकपको निरन्तरता र स्थायीत्वका लागि आयोजकले आगामी ५ वर्षमा अक्षयकोषको रकम एक करोड पुराउने लक्ष्यको साथ अगाडी बडेकाले आम क्षेत्रबासी तथा देश विदेशमा बसोबास गर्ने नेपाली दाजुभाईहरुसँग सहभागिताका लागि आव्हान गरिएको प्रतिष्ठानका सचिव शंकरहरि खालिङ्गले जानकारी दिनुभयो ।

खेल यही पौषको ४ गतेसम्म सञ्चालन हुने छ ।