भ्यानमा भेटियो २८ वटा मानव खप्पर

न्युजलय १९ असोज २०७८, मङ्गलबार ११:२४ मा प्रकाशित

मोरङ । मोरंगको नेपाल–भारत सीमामा भ्यानभित्र २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी भेटिएको छ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट उक्त को२च ९६४८ नम्बरको भ्यान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार मंगलबार भ्यान बेवारिस अवस्थामा देखेर जाँच गर्दा मानव खप्पर र हड्डी फेला परेको हो । थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले थप अनुसन्धान भइरहेको बताए ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।