२०७८ साल कार्तिक ७ गते अाईतबार

मुगु दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०८:३३ मा प्रकाशित
काठमाडौं । मुगुमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

घटनास्थलमै २४ जनाको ज्यान गएको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गुमेको थियो। त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको हो। चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दियो। घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो।
 
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।
 
सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।