काठमाडौं । १८ वर्षमाथिका नागरिकले मात्रै लगाउन पाएको कोरोनाविरुद्धको खोप अब १२ वर्षमाथिकाले पनि लगाउन पाउने भएका छन् । आगामी सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप नेपाल भित्रिएपछि सरकारले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई उक्त खोप लगाइदिने कार्यक्रम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।
अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका अमेरिकी नागरिकले यसअघि नै लगाइसकेको छ । यूएस फुड एन्ड ड्रग एडनिनिस्ट्रेसनले १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन पूर्ण अनुमति दिइसकेको छ भने १२ वर्ष पुगेकालाई भने अनुगमनसहितको पूर्ण अनुमति दिएको छ । उक्त संस्थाले खोपकै कारण युवामा साइड इफेक्टका रूपमा मुटुमा समस्या नदेखिएको पनि स्पष्ट पारेको छ ।
यसैबीच फाइजर–बायोएनटेक कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा गरेको खोपको परीक्षण सफल भएको जनाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको उक्त उमेर समूहको क्लिनिकल परीक्षणको प्रतिवेदनमा खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको उल्लेख छ ।
परीक्षणमा सहभागी बालबालिकालाई १० माइक्रोग्राम परिमाणको दुई मात्रा खोप लगाइएको कम्पनीले जनाएको छ ।
अमेरिकाको यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट अमेरिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा फाइजर खोपको प्रयोग गर्न अनुमति पाइसकेको जनाउँदै फाइजर बायोएनटेक कम्पनीले आगामी नोभेम्बर महिनाबाट अमेरिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि फाइजर खोप लगाउने अभियान शुरु हुने सम्भावना रहेको जनाएको छ ।