जमिनमुनिको पानी इटहरीको लागि अपर्याप्त, फोहोर फाल्ने ठाउँ नयाँ खोज्न सुझाव

न्युजलय ५ असार २०८३, शुक्रबार ०८:३७ मा प्रकाशित

इटहरी । इटहरीको शहरी विकास योजनाबद्ध हुनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । दिगो विकासका लागि योजना र तथ्यांकमा काम गर्नुपर्ने र नगरको पुनः इन्जिनियरिङ गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।


इटहरी एफएमको आयोजनामा इटहरीको शहरी पूर्वाधार, खानेपानी तथा सरसफाइसम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै सम्बन्धित विषयका विज्ञ तथा सरोकारवालाहरुले हिजो गरेका लापरवाही र वेवास्ताले गर्दा इटहरी चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै अब ढिलो गर्न नहुनेमा जोड दिएका थिए ।


कार्यक्रममा इटहरी खानेपानी संस्थाका प्रबन्धक हरि कटवालले इटहरीको खानेपानी अवस्थाबारे जानकारी दिँदै योजनाबद्ध विकासका लागि भरपर्दो तथ्यांकको अभाव रहेको बताए। उनका अनुसार पालिकाले तयार पारेको सिटी प्रोफाइल र जनगणनाका तथ्यांकबीच तालमेल नदेखिएकाले अद्यावधिक सिटी प्रोफाइल निर्माण आवश्यक छ।


कटवालले हाल इटहरीका २० वटै वडामा दैनिक करिब ४ करोड ५० लाख लिटर पानीको माग रहेको जानकारी दिए। इटहरी, तरहरा, पकली र खनार खानेपानी आयोजनाबाट दैनिक करिब २ करोड ७० लाख लिटर पानी आपूर्ति भइरहेको र बाँकी आवश्यकताका लागि नागरिकहरू ट्युबवेल तथा अन्य स्रोतमा निर्भर रहेको उनले बताए।


कटवालले विद्युत आपूर्तिको अनियमितता खानेपानी सेवाको प्रमुख चुनौती बनेको बताए। विशेषगरी गर्मीयाममा माग बढ्ने बेला विद्युत लाइन र भोल्टेज समस्याले सेवा प्रभावित हुने गरेको उनको भनाइ थियो। इनार वा बोरिङ खन्दा जमिन भासिन्छ भन्ने भ्रम समाजमा रहेको भन्दै उनले वैज्ञानिक आधारमा भूजल उपयोग गर्नुपर्ने बताए। उनले खानेपानीको अस्वाभाविक माग वृद्धि, दुरुपयोग र चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए।


इटहरीमा हाल करिब ५८ हजार ७ सय ७५ घर रहेको अनुमान गरिएको र २०४६ सालसम्म यो संख्या ९२ हजार ४ सय ७५ पुग्न सक्ने प्रक्षेपण रहेको जानकारी दिँदै कटवालले आगामी २० वर्षपछि दैनिक ११ करोड लिटर पानी आवश्यक पर्ने अनुमान सुनाए। 


भूमिगत पानीको वास्तविक भण्डारण र प्रयोगको अवस्था स्पष्ट नभएकाले वैकल्पिक स्रोतको खोजी आवश्यक रहेको उनले बताए । खानेपानी प्रणालीलाई पुनर्संरचना गर्दै दीर्घकालीन रूपमा जल पुनर्भरण, नयाँ स्रोतको खोजी, वर्षाको पानी संकलन तथा स्मार्ट प्रणालीतर्फ जानुपर्ने आवश्यकता औंल्याए। प्रिपेड खानेपानी प्रणाली र रेन वाटर हार्भेस्टिङजस्ता उपाय अवलम्बन गर्न सकिने उनको सुझाव थियो। धरानमा जस्तै सप्तकोशीको पानी ल्याउने विषय लागतका हिसाबले प्रभावकारी नहुने भए पनि पूर्वका सहरहरूलाई समेटेर योजना बनाए सम्भव हुन सक्ने उनले बताए। खानेपानी संरक्षणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उनको निष्कर्ष थियो।


कार्यक्रममा प्रज्वल दाहालले इटहरीको शहरी पूर्वाधारको अवस्था र आवश्यकताबारे विषय प्रवेश गराएका थिए। उनले सडक निर्माणपछि पटक–पटक खाल्डाखुल्डी हुने समस्या रहेको बताए । इटहरीमा धेरै घरहरू निर्माण भइसकेपछि मात्र अभिलेखीकरण गरिने अभ्यास रहेकाले यसले योजना निर्माण र सेवा प्रवाहमा समस्या सिर्जना गरेको छ। धरानमा जस्तै घरको नक्सा स्वीकृतिपछि मात्र विद्युत र खानेपानी जडान गर्ने व्यवस्था इटहरीमा पनि लागू गर्नुपर्ने उनले सुझाव दिए। साथै, बढ्दो शहरीकरणसँगै सार्वजनिक पार्क, नाइट मार्केटलगायतका संरचनाको आवश्यकता बढ्दै गएको उनको भनाइ थियो।


फोहोर व्यवस्थापन तथा सरसफाइका विषयमा अध्ययन गरेका अतितकिरण नेपालले इटहरीमा फोहोर संकलनदेखि प्रशोधनसम्म विभिन्न समस्या रहेको बताए। उनका अनुसार सडक किनारमा फोहोर थुपार्ने प्रवृत्ती, घरबाट जैविक र अजैविक फोहोर नछुट्याई संकलनका लागि दिने, धुलोको समस्या तथा फोहोर उठाउने कम्पनीहरूको मनपरी शुल्क लिने प्रवृत्ति विद्यमान छ।

ल्यान्डफिल साइट र बायोग्यास परियोजनाको प्रभावकारी उपयोग हुन नसकेको तथा बायोग्यास सञ्चालनका लागि आवश्यक मात्रामा फोहोर उत्पादन नहुँदा अपेक्षित परिणाम नआएको उनले बताए। फोहोर व्यवस्थापनका लागि वरपरका पालिकासँग समन्वय आवश्यक भए पनि त्यसतर्फ पर्याप्त पहल नभएको उनको भनाइ थियो।


उनले फोहोर संकलन गर्ने गाडीको तालिका सार्वजनिक गर्न, नियमित अनुगमन गर्न तथा घरधुरीमै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउन सुझाव दिए। टोल विकास संस्थामार्फत फोहोर वर्गीकरण गराउने र राम्रो काम गर्नेलाई प्रोत्साहन दिने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।

नियमित बजार सरसफाइ, सम्पूर्ण नाला प्रणालीको नक्सांकन र पुनर्निर्माण, वर्षायामअघि सरसफाइ अभियान सञ्चालन तथा उद्योगहरूमा ध्वनि र धुलो नियन्त्रण मापदण्ड लागू गर्नुपर्ने आवश्यकता उनले औंल्याए। रासायनिक फोहोर जथाभावी फाल्ने प्रवृत्ति रोक्न कडाइ गर्नुपर्ने उनको भनाइ थियो।

दीर्घकालीन समाधानका रूपमा कम्पोस्ट प्लान्ट निर्माण, लिचेट व्यवस्थापन, सडक सफाइका लागि मेकानिकल स्वीपर प्रयोग, एकीकृत ड्रेनेज मास्टरप्लान निर्माण तथा उद्योगहरूमा प्रशोधन प्रणाली अनिवार्य लागू गर्नुपर्ने सुझाव उनले दिए।


कार्यक्रममा इटहरीमा फोहोर व्यवस्थापनको काम सुरु गर्ने विज्ञ मानध्वज मोक्तानले फोहोर व्यवस्थापनलाई दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताए। फोहोरमैला व्यवस्थापनका विषयमा स्पष्ट सरकारी नीति र सचेतना आवश्यक रहेकोमा जोड दिए । निजी कम्पनीलाई ठेक्का दिएर जिम्मेवारी हस्तान्तरण गरिए पनि समग्र व्यवस्थापनमा आवश्यक ध्यान पुग्न नसकेको उनको भनाइ थियो ।

हाल फोहोर फाल्ने अभ्यास दीर्घकालीन समाधान नभएको उल्लेख गर्दै उनले फोहोरलाई ऊर्जा उत्पादन गर्ने गरी प्रशोधन वा जलाएर व्यवस्थापन गर्न सकिने विषयमा समेत छलफल हुँदै आएको बताए । त्यसका लागि स्थानीय सरकारको सक्रिय सहयोग आवश्यक पर्ने उनको धारणा थियो। विदेशमा फोहोर व्यवस्थापन व्यवस्थित हुनुको कारण त्यहाँको सांस्कृतिक अभ्यास र नागरिक अनुशासन रहेको उल्लेख गर्दै उनले नेपालमा भने अझै त्यस्तो संस्कार विकास हुन नसकेको बताए।

फोहोर व्यवस्थापनलाई समाधानको विषयभन्दा राजनीतिक मुद्दाका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै उनले फोहोरमैला र वातावरण एकअर्कासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यससम्बन्धी कानुन कडा बनाउनुपर्ने आवश्यकता औंल्याए।


वेस्ट इन्भारो कम्पनीका पूर्वअध्यक्ष देशबन्धु कार्कीले इटहरीमा राम्रो काम गर्न खोज्नेहरूलाई सहयोग गर्नुभन्दा स्वार्थ समूहहरू हाबी हुने र सामान्य विषयलाई समेत विवाद बनाएर उचाल्ने प्रवृत्ति देखिएको बताए । इन्भारोको व्यवस्थापन सम्हाल्दाको अनुभव सुनाउँदै उनले इटहरीमा हाल करिब १६ हजार ग्राहकले मासिक रूपमा फोहोर व्यवस्थापन शुल्क तिरिरहेको जानकारी दिए ।

सुरुआती चरणमा प्राप्त अनुदानको रकम प्रभावकारी रूपमा प्रयोग हुन नसक्दा अहिलेको फोहोर व्यवस्थापन प्रणालीमा पनि विभिन्न समस्या देखिएको उनको भनाइ थियो । इटहरीको फोहोर व्यवस्थापनको समस्या अन्ततः नगर नेतृत्वसँग जोडिने भन्दै उनले स्थानीय नेतृत्व सकारात्मक नभएसम्म हरेक क्षेत्रमा समस्या दोहोरिने बताए ।


इटहरी उपमहानगरपालिकाको वातावरण शाखाका युगदीप लुइटेलले फोहोर व्यवस्थापन व्यक्तिगत व्यवहारबाटै सुरु हुने बताए । प्रत्येक नागरिकले “माइ पकेट, माइ डस्टबिन” को अवधारणा अपनाउनुपर्ने उल्लेख गर्दै उनले इटहरीमा नागरिक सचेतनाको कमी रहेको बताए । उनकाअनुसार फोहोर व्यवस्थापनमा पहिलो प्राथमिकता फोहोर उत्पादन घटाउनेतर्फ केन्द्रित हुनुपर्ने र घरघरमै फोहोर वर्गीकरण गर्नुपर्ने बताए ।

इटहरीको बायोग्यास प्लान्ट सञ्चालनका लागि दैनिक कम्तीमा २५ टन कुहिने फोहोर आवश्यक पर्ने भए पनि इटहरीमा उत्पादन हुने कुल ५० देखि ५५ टन फोहोरमध्ये करिब ५ टन मात्र कुहिने फोहोर हुने गरेको उनले जानकारी दिए । आवश्यक कच्चा पदार्थ अभावकै कारण करिब १५ करोड रुपैयाँ लगानी भएको बायोग्यास प्लान्ट प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनको भनाइ थियो ।

वायु प्रदूषणलाई उनले ‘साइलेन्ट किलर’ को संज्ञा दिए । सडक, हावापानी र औद्योगिक प्रदूषण नियन्त्रणको जिम्मेवारी मुख्यतः प्रदेश र संघीय सरकारअन्तर्गत पर्ने तथा स्थानीय तहले दर्ता र सिफारिसको भूमिका मात्र निर्वाह गर्ने उनले बताए । रासायनिक तथा जोखिमयुक्त प्रदूषणसमेत उद्योगले घटाउनुपर्नेमा जोड दिए । उनले कानुनअनुसार जरिवानाको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए । हाल रहेको ल्याण्डफिल साइट वास्तवमा वैज्ञानिक ल्याण्डफिल नभई डम्पिङ साइट मात्र रहेको र खोला किनारमा अवस्थित भएकाले दीर्घकालीन समाधान बन्न नसक्ने उनको भनाइ थियो।

स्थायी समाधानका लागि आसपासका पालिकाहरू मिलेर ४ देखि ६ बिघा क्षेत्रफलको उपयुक्त जग्गा खोजी वैज्ञानिक ल्याण्डफिल निर्माण गर्नुपर्ने सुझाव दिँदै उनले वन क्षेत्रसँग समन्वय गरेर विकल्प खोज्न सकिने बताए। निजी जग्गा खरिद गरेर यस्तो संरचना निर्माण गर्न कठिन हुने र अन्यत्र पर्याप्त खाली क्षेत्रसमेत उपलब्ध नभएको उनको भनाइ थियो।


व्यवसायी तारा कटुवालले इटहरीको विकासमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताए । उनले इटहरीको विषयमा हुने छलफललाई पनि प्रविधिको माध्यमबाट गर्न सकिने सुझाव दिए । सार्वजनिक–निजी साझेदारीको विषयमा उनले कुनै एउटा कम्पनीलाई लामो समयका लागि जिम्मा दिने प्रणाली सही नभएको बताए । उनले जिम्मेवारी दिने हो भने नागरिकलाई पनि साझेदार बनाउनुपर्ने बताए । “तीन जना बसेर बनाएको साझेदारी प्रणालीले काम गर्दैन। कम्पनीको संरचनामै समस्या छ।” उनले भने ।


प्रदेश सांसद मीना श्रेष्ठले समस्या मात्र उठाउनेभन्दा समाधान खोजेर अघि बढ्नुपर्ने बताइन् । उनले आफूले इटहरीका विभिन्न क्षेत्रका लागि बजेट ल्याउन पहल गरिरहेको बताउँदै उनले इटहरीका विकृति र विसंगतिबारे जनताले भनेका कुरा सदनमा उठाइरहेको जानकारी दिइन् । उनले जनताको समस्या उठाउँदा कहिलेकाहीँ स्थानीय नेतृत्वले दुस्मनको रुपमा सोचेको गुनासो गरिन् । उनले इटहरीमा विद्युत शवदाह गृह आवश्यक रहेको बताइन्। उनले तालतलैया क्षेत्रमा मौसम अध्ययन गर्ने प्रयोगशाला बनाउन सकिने धारणा राखिन् । उनले फोहोर व्यवस्थापन प्रभावकारी बनाउन राज्य कडा रूपमा लाग्नुपर्ने बताइन् ।


इटहरी खानेपानीका पूर्वअध्यक्ष रामप्रसाद चौलागाईंले खानेपानी क्षेत्रमा विकृति बढेको र आर्थिक चलखेल भएको बताए । उनले इटहरी खानेपानीको नयाँ परियोजनाका लागि आर्थिक प्रस्ताव आएको र आफूले त्यसलाई नकार्दा खानेपानी प्रवेशमै प्रतिबन्ध लगाइएको आरोप लगाए । “नयाँ परियोजना आउँदा मिलेर काम गरौँ भन्ने कुरा मेयरबाटै आएको थियो। मैले मानिनँ। त्यसपछि मलाई निषेध गर्ने गरी निर्वाचन भयो।” खानेपानीका लागि आएको रकम बाँड्ने विषयमा आफू सहमत नभएकोले नकारेको बताए ।

उनकाअनुसार इटहरी खानेपानीको लागि ढल निकाससहितको १० अर्बसम्मको योजना अनुदानमा आउन सक्थ्यो । तर पालिका र खानेपानी संस्थाले ध्यान नदिँदा थोरै बजेट आएको बताए । उनले अहिलेको परियोजना पनि राम्रो व्यवस्थापन गर्न सके आगामी २५–३० वर्षसम्म इटहरीको आवश्यकता पूरा गर्न सक्ने बताए । उनले इटहरीका लागि टेंग्रा खोलाको डाइभर्सन आवश्यक रहेको बताए । उनले नागरिकलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने बताए । उनले नेतृत्वमा सिर्जनशील सोच भएका व्यक्ति आउनुपर्ने बताए । फोहोर व्यवस्थापनका विषयमा उनले भने, “सुनसरी आसपासको फोहोर व्यवस्थापन कोशी किनारमा जग्गा लिएर गर्न सकिन्छ। वातावरणमैत्री विकास गर्नुपर्छ।”

उनले खानेपानीमा गरिब नागरिकलाई पनि पहुँच दिने अवधारणा आफूहरूले सुरु गरेको बताए । उनले इटहरीमा योजना आयोग बनाएर ५० वर्षे गुरुयोजना बनाउनुपर्नेमा जोड दिए । घरघरमा पानी पुनर्भरण गर्ने खाल्डा राख्ने हो भने इटहरीको बाढी २५ प्रतिशतसम्म कम हुने बताए ।


व्यवसायी नवराज कार्कीले टोल विकास संस्थालाई बाटो, नाला निर्माणको योजना बनाउने जिम्मा दिँदा अपेक्षित परिणाम आउन नसकेको बताए।


इन्जिनियर विकास भट्टराईले इटहरीमा धेरै विज्ञ भए पनि उनीहरूको ज्ञान र अनुभवको पर्याप्त प्रयोग नभएको बताए । उनले ठेकेदारले सबै कुरा जानेको जस्तो गर्ने प्रवृत्ति गलत भएको बताए । उनले इटहरीमा धेरै सम्भावना रहेको बताए । उनले विज्ञहरूलाई उपेक्षा गर्दा शहर बिग्रिँदै गएको बताए । 

उनले केही समयअघि इटहरी उपमहानगरपालिकाले आफैँ नक्सा बनाउने योजना ल्याएको विषयमा आफूहरूले विरोध गरेको बताए । मेयरलाई यो ठीक होइन भनेर बुझाउन खोजेपनि मेयरले नमानेको र अन्ततः त्यो कार्य अहिले असफल भइसकेको बताए । उनले निजी क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा जोड दिए ।

उनले इटहरीमा ढल निकासको सही योजना आवश्यक रहेकोमा जोड दिए । पानी कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने योजना हुनुपर्नेमा जोड दिए । उनले अव्यवस्थित जग्गा टुक्र्याउने कामका कारण इटहरी अस्तव्यस्त भएको बताए। “इटहरी पाँच धुरे शहर भएको छ।” उनले पक्की सिमेन्टको नाला बनाइएको बताउँदै त्यस्तो कार्य गलत भएको बताए ।


इन्जिनियर प्रमोद राईले इटहरीको विकासका लागि तत्कालै सक्रिय भएर काम गर्नुपर्ने बताए। उनले सिलगुडीको विकास मोडल अध्ययन गरेर इटहरीका लागि सोच्नुपर्ने धारणा राखे । 

इटहरीमा अस्पताललाई मात्र प्राथमिकता दिनुभन्दा अन्य सम्भावनालाई उजागर गर्नुपर्ने बताए । “बिराटनगरको मेडिकल टुरिजमले इटहरीलाई समेट्दैन। त्यसका लागि इटहरीमा मानिस आउने अन्य कारण बनाउनुपर्छ।” उनले भने । 

उनले विकास मानवकेन्द्रित हुनुपर्ने बताए। यस्तै जनशक्ति उत्पादन गर्न र बाहिरका जनशक्तिहरु इटहरीमा ल्याउनुपर्ने बताए । उनले अहिलेको विकास शैलीप्रति प्रश्न उठाउँदै ड्रेन बन्यो भने पुगिहाल्यो भन्ने सोच रहेको तर पानी बग्छ कि बग्दैन भन्ने कुरामा ध्यान दिन नसकेको बताए । 

इटहरीमा मानिसहरु आउने कारण सिर्जना गर्नुपर्ने बताउँदै उनले इटहरी राम्रो सम्भावना भएर पनि व्यवस्थित विकास नहुँदा इटहरी बन्न नसकेको बताउँदै योजनाबद्ध विकास आवश्यक रहेको बताए । उनले इटहरीलाई सूचना प्रविधि, मनोरञ्जन र विशेष पहिचानको शहर बनाउन सकिने बताए। बाँस, काठ र माटोका संरचना तथा परीक्षण केन्द्रको रूपमा समेत इटहरीलाई चिनाउन सकिने उनको भनाइ थियो। “बाँसको पाँच तले घर बनाउने जस्ता नयाँ पहिचान बनाउन सकियो भने हेर्नकै लागि मानिस आउँछन्,” उनले भने ।

उनले आगामी दिनमा तालतलैया क्षेत्र भविष्यमा इटहरीको खानेपानीको स्रोत बन्न सक्ने बताए ।


नेकपा नेता रमेश खत्रीले इटहरी योजना विनाको शहरका रुमाप विकास भएको बताउँदै इटहरीको विकासका लागि अब योजना बनाउनुपर्ने बताए । उनले इटहरीको दीर्घकालीन खानेपानीको माग धान्न पानीको स्रोत बढाउनेतर्फ जानुपर्नेमा सुझाव दिए । 

उनले सरसफाइमा संस्कार विकास गर्नुपर्ने बताए । साथै विज्ञलाई योजना बनाउने काम दिनुपर्ने बताए । उनले दमकल, पार्क, पार्किङलगायतका समस्या समाधान गर्नुपर्ने बताए । यस्ता विषयमा स्थानीय सरकारले वडा–वडाका समस्या पहिचान गरेर समाधान खोज्नुपर्ने बताए । उनले जनप्रतिनिधिमा विज्ञता र विशेषज्ञता भएका मानिस आवश्यक रहेको बताए ।


नेकपा एमाले नेता सुनिल कार्कीले इतिहासबाट सिक्दै भविष्यको इटहरी निर्माण गर्नुपर्ने बताए । उनले इटहरीमा रहेका विज्ञहरूको सहयोग लिएर अघि बढ्नुपर्ने बताए । उनले मुख्य आवश्यकता डेटा भएको बताए । “हामीसँग कस्तो जनशक्ति छ, कति सम्भावना छ भन्ने तथ्यांक राख्नुपर्छ।” उनले भने ।

उनले इटहरीको नेतृत्वमा संकुचित सोच देखिएको आरोप लगाउँदै त्यहीँ सोँचका कारण अहिले समस्या उत्पन्न भएको बताए । 

इटहरी खानेपानीको पछिल्लो विवाद कसले बजेट चलाउने भन्ने विषयमा देखिएको बताए । २ अर्बको परियोजना खानेपानी संस्था र पालिकाबीच अधिकारको विषयमा विवाद भएपछि अन्तीममा पालिकालाई अनुगमन गर्ने निकायको रुपमा राख्ने सहमती पछि विवाद सकिएको बताए । 

उनले फोहोर व्यवस्थापनको समस्या गम्भीर रहेको बताए । विगतमा सरसफाई र फोहोर व्यवस्थापनसम्बन्धि निजी क्षेत्रसँग भएको सम्झौता कार्यान्वयन नभएको बताउँदै अहिले पनि जंगलमा फोहोर जलाउने अवस्था रहेको गुनासो गरे । भवानीपुरका मानिसहरू प्रभावित भएको र सोही विषयमा आन्दोलनसमेत भएको बताए । 

उनले घरघरबाट संकलन भएको सेफ्टी ट्यांकीको फोहोर पनि जंगलमा फाल्ने समस्या रहेको र जंगलमा फालिएको फोहोर बाढीसँगै बस्तीमा पुग्ने गरेको बताए ।

उनले नगर विकासमा इन्जिनियर र प्राविधिक कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउँदै भने, “जनप्रतिनिधिलाई सुझाव, सुधार र खबरदारी गर्ने काम विज्ञ कर्मचारीले गर्नुपर्छ।”


शिक्षा व्यवसायी सूर्य चम्लागाईले नीति, नियम र अनुसन्धानमा आधारित विकास आवश्यक रहेको बताए। उनले भने, “ऐन, नीति र नियम ठीक हुनुपर्छ। नागरिक चेतना पनि बढाउनुपर्छ।” 

उनले इटहरीमा बहुविषय अध्ययन हुने विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । इटहरीका धेरै विषय विश्वविद्यालयको अनुसन्धानको विषय बन्न सक्छन्। सबै कुरालाई अनुसन्धानसँग जोड्नुपर्ने बताए । उनले शोधपत्रहरू पनि इटहरी केन्द्रित बनाउनुपर्ने धारणा राखे।


नागरिक समाजका पूर्वअध्यक्ष राजु केसीले इटहरीको विकास मोडलमाथि पुनर्विचार गर्नुपर्ने बताए। उनले इटहरीबाट १५ जना सांसद रहेको बताउँदै इटहरीको विकासमा सबैले चासो लिनुपर्ने बताए ।

उनले इटहरी योजना नभएर बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । अहिले बनेको इटहरी अस्पतालको तल पार्किङ नभएको र यसले इटहरीको विकासको मोडल जानकारी दिएको बताए । उनले यस्ता कुराहरुमा इन्जिनियरहरूले समयमै सुझाव र सचेत गराउनुपर्ने बताए।

ल्यान्डफिल साइटको विषयमा उनले भने, “ल्यान्डफिल साइट बनेपछि त्यही क्षेत्रमा प्लटिङ भयो। त्यहाँको सबै जग्गा पहिल्यै किनेको भए दीर्घकालीन समाधान हुन्थ्यो।” उनले इटहरी भूमिगत पानीमा मात्र निर्भर हुन नसक्ने बताए। उनले चार्जिङ र पानी पुनर्भरण प्रणालीमा ध्यान दिनुपर्नेमा जोड दिए । ड्रेन सबै सिमेन्टेड बनाउने चलन रोक्नुपर्ने बताए ।

उनले पूर्व–पश्चिम राजमार्ग निर्माणमा पनि पर्याप्त इन्जिनियरिङ सोच नदेखिएको बताए। बूढी खोलाको समस्या, सडक र घाटको विषयमा विकल्प सोच्नुपर्ने बताए । उनले इटहरीको पहिचान निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । 

उनले कला र संस्कृतिको विकासमा पनि ध्यान दिनुपर्ने बताए। कार्यपालिकाका सदस्यहरू कला क्षेत्रमा चासो नराख्ने गरेकोमा दुःखेसो व्यक्त गर्दै संगीत कार्यक्रम, नाटक र सिर्जनात्मक क्षेत्रबाट इटहरीलाई कला शहर बनाउन सकिने बताए । उनले संगीत साधना प्रतिष्ठानजस्ता संस्थाका लागि बजेट माग्दा बारम्बार पहल गर्नुपर्ने अवस्था रहेको बताए।