पूर्वका किसानले डिडिसीलाई बेच्न छाडे दूध

न्युजलय ९ भदौ २०७९, बिहिबार ०८:१९ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनालाई दूध पाउनै मुश्किल पर्न थालेको छ । किसानहरुले आयोजनालाई दूध नबेचेपछि आयोजनाले पर्याप्त दुध पाउन छाडेको हो । 

पहिले त्यही आयोजनाले दुध नकिनिदिएको भन्दै किसानहरुले गुनासो गर्ने गरेका थिए । आयोजनाले तीन महिनासम्म दूधको भुक्तानी नगर्ने, अनेक खोट देखाएर कहिले लिने र कहिले नलिने गर्न थालेपछि किसानहरुले बेच्न छाडेका हुन् । 

‘एकातिर बजारभन्दा कम मूल्य पाइने, अर्कोतिर डिडिसीले भुक्तानी नै तीन चार महिनापछि मात्रै गर्न थालेपछि अन्यत्रै बेच्न थालेको किसानहरुको भनाई छ । 

यस्तै पछिल्लो समयमा गाउँ गाउँमा खुलेका सहकारीहरूले सञ्चालन गरेको डेरीका कारण पनि किसानहरुले सुविधा पाएका छन् भने किसान आफैं पनि छुर्पी, घिउ जस्ता परिकार बनाएर बेच्न थालेपछि थोरै मात्र बेच्न थालेका हुन् ।

दूध उत्पादक किसानहरूका अनुसार डिडिसीको आयोजनाले किसानलाई प्रतिलिटर ५० रुपैयाँसम्म दिने गरेको छ। किसानले स्थानीय बजारमा दूध बेच्दा बढी मूल्य पाउने गरेका छन् ।