इटहरी । जिल्ला अध्यक्ष दावी गर्ने दुई नेताहरुभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले विरोध जनाएका छन् ।
बुधबार इनरुवामा भइरहेको महाधिवेशन आयोजक समिति घोषणा कार्यक्रम बहिष्कार गर्दै चौधरीले जिल्ला समिति हुँदा हुँदै अर्को व्यक्तिको अध्यक्षतामा कार्यक्रम गर्नु गलत भएको बताए । ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्यो ।’ त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भएपनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रिय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए ।
उक्त कार्यक्रम एमाले सुनसरी इन्चार्ज धर्म निरौलाको अध्यक्षतामा गरिएपछि चौधरीले विधान विपरीत भएको भन्दै विरोध जनाएका हुन् । कार्यक्रममा विरोध जनाएपछि इटहरीमा आएर पत्रकार सम्मेलन गर्दै उनले पार्टी कम्पनिजस्तो भएको र नेतृत्व बिर्ताबालजस्तो भएको आरोप लगाए ।
उनले पार्टी जाकिर हुसैन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’
चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारवाही गर्नसमेत माग गरेका छन् ।
सुनसरी एमालेको बैठकमा द्वारिकलाल चौधरीले खोसे माइक