बंगलादेशमा चर्कियो प्रदर्शन, ९७ भन्दा बढीको मृत्यु

न्युजलय २१ साउन २०८१, सोमबार ०६:३५ मा प्रकाशित

काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।

प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । 

प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । 

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।