एसीसी पुरुष यू—१६ इस्ट जोन कपः मलेसियालाई हराउँदै नेपाललाई उपाधि

न्युजलय १९ असार २०८०, मङ्गलबार ०५:४३ मा प्रकाशित

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार(आज) भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । 

पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । 

नेपालले सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । 

यही प्रतियोगिताको समूहगत चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । उक्त खेलमा विजयी भएपछि नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको विशाल अन्तरले पराजित गरेको थियो ।